चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दै गएको छ। हाल पानीको सतह ४.७६ मिटर रहेको र बाढीको बहाव करिब दिउँसो ३:३० बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ।
प्रारम्भिक आकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिएको छ। त्यसअनुसार देवघाटमा पानीको सतह करिब ८ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। यो बाढी २–३ वर्ष पुनरावृत्ति अवधिको हुन सक्ने प्रारम्भिक अनुमान छ।
हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको बताइएको छ। यद्यपि नदीको बहाव र पानीको सतहमा थप परिवर्तन हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
अर्को सूचना जारी नभएसम्म नदीको छेउछाउ तथा तटीय क्षेत्रमा रहेका बस्ती र बजारका बासिन्दालाई सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरिएको छ। साथै नदी किनारमा अनावश्यक आवतजावत नगर्न र बाढीसम्बन्धी सूचनालाई ध्यानपूर्वक पालना गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।