88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
राष्ट्रिय खबर

कृष्णभीर पहिरोको तत्काल र दीर्घकालीन समाधानका लागि छलफल सम्पन्न

September 2, 2026 ·
कृष्णभीर पहिरोको तत्काल र दीर्घकालीन समाधानका लागि छलफल सम्पन्न
पढ्ने आकार:

पृथ्वी राजमार्ग सञ्चालन तथा कृष्णभीर पहिरोको तत्कालीन र दीर्घकालीन समाधानका विषयमा पूर्वाधार विकास मन्त्रालयमा हिजो बसेको बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ।

मन्त्रालयका अनुसार विपद् प्रभावित क्षेत्र तथा राजधानीसँगको आपूर्ति शृंखला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाइनेछ।

बैठकले ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ निर्माण तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कार्य समेत गर्ने निर्णय गरेको छ।

कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ र सिट पाइल लगायतका प्राविधिक विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने भएको छ।

त्यस्तै, कृष्णभीरको विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय गरिएको छ।

उक्त विकल्पहरूको प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णयसमेत भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X