एन सेल ले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न स्थानमा युटेलस्याट (Eutelsat) को लो अर्थ अर्बिट (LEO) स्याटलाइट प्रविधिमार्फत निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ ।
हाल जारी उद्धार र राहत वितरणका कार्यहरूलाई सहज बनाउन तथा प्रभावित समुदायलाई बाहिरी संसार र परिवारसँग सम्पर्कमा राख्न यो सेवा तत्कालका लागि उपलब्ध गराइएको एनसेल ले जनाएको छ । विपद्का बेला संचारसम्पर्क टुट्दा उद्धार कार्यमा हुने कठिनाई लाई मध्यनजर गर्दै यो कदम चालिएको एनसेल ले जनाएको हो ।
नुवाकोटका प्रभावित क्षेत्रहरूमा सेवा सुरु भइसकेपछि अब रसुवा र धादिङ जिल्लाका बाढी प्रभावित विभिन्न स्थानहरूमा पनि यही प्रविधिमार्फत इन्टरनेट सेवा छिट्टै विस्तार गरिने तयारी भइरहेको एनसेलका प्राबिधिकहरुले जनाएका छन् ।
कठिन घडीमा नेपाल र नेपाली जनताको साथमा उभिन आफूहरू सधैं प्रतिबद्ध रहेको सेवा प्रदायक एनसेल ले जनाएको छ। आपतकालीन अवस्थामा यसप्रकारको आधुनिक प्रविधिले राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।