सन्तोष भट्टराई,काठमाण्डौ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३२, अमरावती मार्गमा सञ्चालित न्यू फेमिली गर्ल्स होस्टेलमा विभिन्न कमजोरी भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौं महानगरपालिका र होटल व्यवसायी संघको संयुक्त अनुगमन टोलीले होस्टेलको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा होस्टेलले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा नगरेको, होस्टेल सञ्चालन गर्न वडामा मात्र दर्ता गरिएको तथा आवश्यक निकायबाट अनुमति नलिएको पाइएको प्रशासनले जनाएको छ। त्यस्तै, विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाइएको, विद्यार्थी भर्ना गर्दा प्यान बिल जारी नगरिएको र जिम्मेवार व्यक्ति होस्टेलमा नबस्ने गरेको पनि भेटिएको छ।
प्रशासनका अनुसार विद्यार्थीहरूसँग गैरजिम्मेवारपूर्ण व्यवहार गर्नुका साथै मानसिक यातना दिने गरेको, सीसीटीभी क्यामेरा सञ्चालनमा नरहेको तथा रातिको समयमा छात्राहरूलाई अमर्यादित ढंगबाट बाहिर निस्कन बाध्य पारिएको समेत अनुगमनका क्रममा पाइएको छ।
होस्टेल सञ्चालनमा देखिएको गम्भीर लापरबाहीका कारण उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) बमोजिम कसुर प्रमाणित भएको भन्दै सोही ऐनको दफा ३९(१) (ख) अनुसार रु. ३ लाख जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
साथै, होस्टेल सञ्चालनमा रोक लगाउँदै थप आवश्यक कारबाहीका लागि सञ्चालकलाई ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।