सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’को छायांकन सम्पन्न भएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायांकन ९० दिनमा पूरा भएको निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रका दृश्यहरू नेपालको सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा छायांकन गरिएको हो । निर्माण टिमका अनुसार निर्धारित तालिकाभन्दा बढी समय लिएर चलचित्रको कथावस्तु र दृश्यको आवश्यकताअनुसार छायांकन गरिएको छ ।
कलाकार तथा प्राविधिकको मेहनत र सहकार्यमा छायांकन सम्पन्न भएको जनाउँदै निर्माण टिमले अब पोस्ट–प्रोडक्सनमा पनि पर्याप्त समय र ध्यान दिने बताएको छ । दर्शकलाई उत्कृष्ट चलचित्र प्रस्तुत गर्ने उद्देश्यले निर्माणका हरेक चरणमा गुणस्तरलाई प्राथमिकता दिइएको टिमको भनाइ छ ।
अस्त्र फिल्मसको ब्यानरमा निर्मित चलचित्र ‘जुबा’की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे हुन् । चलचित्रको कथा तथा निर्देशन प्रकाश कर्णको रहेको छ भने लेखन वर्षा पौडेलले गरेकी छन् ।
चलचित्रमा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछिन् । सुधनको यो तेस्रो चलचित्र भए पनि मुख्य भूमिकामा भने पहिलो हो । उनले यसअघि अभिनय गरेका दुई चलचित्र प्रदर्शन हुन बाँकी छन् ।
‘जुबा’को निर्माण घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो । ती पोस्टरमा सौगातको एकल लुक्स, पीसीओबाट फोनमा कुराकानी गरिरहेको दृश्य तथा सिगारसहितको सुधनको लुक्स प्रस्तुत गरिएको थियो । सुधनको प्रस्तुतिले उनको भूमिका खलपात्रको हुन सक्ने संकेत दिएको छ । कलाकारको पहिरन, गेटअप र दृश्य परिवेशले चलचित्रको कथा करिब दुई दशकअघिको समयसँग सम्बन्धित हुन सक्ने झल्को दिएका छन् । यद्यपि, विस्तृत कथावस्तु निर्माण टिमले खुलाएको छैन ।
चलचित्रको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । पोस्ट–प्रोडक्सनको प्रगतिसँगै उपयुक्त प्रदर्शन मिति निर्धारण गरी छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।