88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी

वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
विज्ञापन
पढ्ने आकार:

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले वित्तीय अपराधको अनुसन्धानमा नेपाल प्रहरीको एकल प्रयास मात्र पर्याप्‍त नहुने उल्लेख गर्दै नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी ईकाइ, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक लगायत सम्पूर्ण सम्बन्धित निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य रहेको बताउनुभएको छ ।

प्रत्येक निकायको कानुनी अधिकार क्षेत्र र जिम्मेवारीको सम्मान गर्दै सूचना आदान-प्रदान, प्रमाणको शीघ्र उपलब्धता, प्राविधिक सहयोग र अनुसन्धान तथा अभियोजन बिचको समन्वयलाई संस्थागत बनाउनुपर्ने बताउँदै सीमापार वित्तीय कारोबार र अपराध सञ्जालको हकमा अन्तर्राष्ट्रिय सहकार्य र पारस्पारिक कानुनी सहायतालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण संकलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह भाग-३’ पुस्तकको विमोचन गर्नुभयो । विमोचित पुस्तक विगतको अनुसन्धानको अनुभव, चुनौती, सिकाई र सफलतालाई संस्थागत ज्ञानको रूपमा अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास रहेको उल्लेख गर्दै यसमा समेटिएका घटनाहरू नयाँ पुस्ताका अनुसन्धानकर्ताको लागि सिकाईको स्रोत बन्ने र अनुसन्धान पद्धतिमा सुधार गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X