88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ मध्ये ४ कैदी पक्राउ, ४ जना अझै फरार

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ मध्ये ४ कैदी पक्राउ, ४ जना अझै फरार
विज्ञापन
पढ्ने आकार:

जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारागार सुरक्षाको चरम लापरबाहीबीच जेल ब्रेक गरेर भागेका उनीहरूमध्ये केहीलाई पक्राउ गरिएको र बाँकीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सदरमुकाम दुनैस्थित जिल्ला कारागारको सेफ्टी ट्याङ्कीतर्फको भागबाट करिब चार मिटर लामो सुरुङ खनेर उनीहरू फरार भएका थिए । बिहानको समयमा कैदीबन्दी गणना गर्दा संख्या कम भएपछि मात्रै घटना बाहिर आएको थियो । कारागारबाट फरार भएकाहरूमा जघन्य तथा अन्य विभिन्न मुद्दामा सजाय काटिरहेका र पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरू सामेल थिए । घटनालगत्तै स्थानीय प्रहरी प्रशासनले खोजतलास तथा अनुसन्धानको दायरा फराकिलो बनाएको थियो ।

यसैबीच, कारागारको सुरक्षा व्यवस्थापन र लापरबाहीबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाको नेतृत्वमा केन्द्र तथा प्रदेशबाट विशेष टोली समेत डोल्पा पुगेर स्थलगत अध्ययन गरिरहेको छ ।

प्रहरीले पक्राउ परेकाहरूसँग थप अनुसन्धान अगाडि बढाएको छ भने फरार रहेका अन्य चार जनाको खोजीका लागि विभिन्न नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको छ। साथै, फरार व्यक्तिको बारेमा कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालय वा कन्ट्रोल रूममा खबर गर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X