88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

प्रेस काउन्सिल नेपालद्वारा पत्रकारको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण: बिना कानुनी आधार नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न माग

प्रेस काउन्सिल नेपालद्वारा पत्रकारको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण: बिना कानुनी आधार नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न माग
विज्ञापन
पढ्ने आकार:

प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति नलिएको र अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारहरूलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको काउन्सिलको भनाइ छ। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो। समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दै काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न माग गरेको छ। साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्दै काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि सदैव प्रतिबद्ध रहेको दोहोऱ्याइएको छ ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X