88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

२ अर्ब १६ करोडभन्दा बढीको अवैध क्रिप्टो कारोबारमा धनुषाका युवक पक्राउ

२ अर्ब १६ करोडभन्दा बढीको अवैध क्रिप्टो कारोबारमा धनुषाका युवक पक्राउ
विज्ञापन
पढ्ने आकार:

अनलाइन बेटिङ तथा अवैध क्रिप्टोकरेन्सी (यूएसडीटी) मार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा बेटिङ एप्लिकेसनमार्फत ठूलो परिमाणमा क्रिप्टोकरेन्सी र सट्टेबाजीको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
सोही अनुसन्धानका क्रममा यादवले क्रिप्टो एक्सचेन्ज प्लेटफर्म ‘बाइनान्स’ (Binance) को आईडीमार्फत २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ बराबरको अवैध कारोबार गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ परेका यादवमाथि मुलुकी अपराध संहिताअनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरका साथै राष्ट्र बैंक ऐन विपरीतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X