नेपाल प्रहरीले नजिकिँदै गरेका बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै देशभर ‘चाडपर्व विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा र यातायात व्यवस्थापनलाई भरपर्दो बनाउन यो योजना ल्याइएको छ ।
यस सुरक्षा योजनाअनुसार देशभरका ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट कुल ५० हजार ४ सय ५८ जना सुरक्षाकर्मी परिचालन गरिनेछन् । चाडपर्वमा हुन सक्ने चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अनलाइन बेटिङ, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी कारोबार रोक्न प्रहरीले विशेष निगरानी बढाउनेछ । साथै, अन्तर्राष्ट्रिय खुला सीमा नाकाबाट अवैध हातहतियार, पटका, विष्फोटक पदार्थ र लागूऔषधको तस्करी नियन्त्रण गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
यात्रुहरूको सहजता र सुरक्षाका लागि देशभर ४ सय ८ वटा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ भने काठमाडौं बाहिरिने सवारी साधनहरूको चालक अनुमति पत्र, मादक तथा लागुपदार्थ सेवन, सवारीको अवस्था र लामो दूरीमा दुई जना चालक भए नभएको नियमित जाँच गरिने ब्यबस्था प्रहरी ले मिलाएको छ । सुरक्षा निगरानीलाई अझै प्रभावकारी बनाउन परम्परागत शैलीको सट्टा सीसीटीभी क्यामेरा, ड्रोन, बडी-वर्न क्यामेरा, तालिमप्राप्त कुकुर र डिजिटल प्लेटफर्मको प्रयोग गरिने प्रहरीले जनाएको छ।
प्रहरीले चाडपर्वमा घर खाली छोड्दा विशेष सतर्कता अपनाउन, डिजिटल ठगी तथा अनलाइन अफरबाट बच्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आम नागरिकलाई अनुरोध समेत गरेको छ ।