भोटेकोशी बाढीबाट प्रभावित भई होल्डिङ सेन्टरमा आश्रय लिँदै आएका प्रभावितहरू क्रमशः अस्थायी बसोबासतर्फ जान थालेका छन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो।
होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावित परिवारलाई अस्थायी रूपमा कोठा भाडामा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासतर्फ जान थालेका हुन्। स्थानीय सरकारले अस्थायी (कोठा भाडा) लिएर बस्ने लाई भाडा स्वरुप केही रकम पनी तोकेको छ ।
बाढी आएलगत्तै सरकारले प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने कार्यलाई प्राथमिकता दिएको थियो। त्यसपछि बेपत्ता तथा प्रभावितको खोज तथा उद्धार, राहत वितरण र विस्थापितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड दिइएको थियो।
हाल अवस्था क्रमशः सामान्य बन्दै गएसँगै होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारलाई सुरक्षित तथा व्यवस्थित अस्थायी बसोबासमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
सरकारले प्रभावित परिवारलाई तत्कालका लागि कोठा भाडामा लिएर बस्न प्रोत्साहित गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउने व्यवस्था मिलाउँदै आएको जनाएको छ। प्रभावितलाई दीर्घकालीन रूपमा पुनःस्थापना गर्ने विषयमा समेत सरकारले आवश्यक योजना अघि बढाउने तयारी गरिरहेको छ।