88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
national

कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको महत्वपूर्ण निर्णय

September 24, 2026 ·
कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको महत्वपूर्ण निर्णय
पढ्ने आकार:

विराटनगर । सम्भावित विपदलाई मध्यनजर गर्दै कोशी प्रदेशमा पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले महत्वपूर्ण निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक श्रोत, साधन, जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । बैठकमा प्रदेशस्थित सबै मन्त्रालयका सचिवहरु तथा चारवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

बैठकले विपद् आउँदा तत्काल उद्धार तथा राहतका काम सञ्चालन गर्न सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै, सम्भावित विपद् सम्बन्धी पूर्वसूचना आवश्यकताअनुसार जारी गर्न प्रदेशस्थित सुरक्षा निकायलाई निर्देशन दिने तयारी गरिएको छ ।

यसैगरी, मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना, २०८३ अनुसार जोखिमयुक्त बस्ती तथा घर स्थानान्तरणका लागि आवश्यक प्रबन्ध मिलाउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायलाई पत्राचार गरिनेछ।

बैठकले माग भई आएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेका विपद् प्रतिकार्य सामग्री सम्बन्धित निकायलाई निकासा गर्ने निर्णय पनि गरेको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X