बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा–२ का करिब १७ वर्षीय सुमन थापा र जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी छन्। थापा म्याजिक गाडीका सहचालक रहेको र चौधरी उक्त गाडीका धनी रहेको प्रहरीले जनाएको छ।
गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। परिवार तथा स्थानीयले खोजी गरिरहेका बेला मंगलबार साँझ घरबाट करिब दुई सय मिटर टाढा रहेको एक खाली घरमा उनको शव फेला परेको थियो। शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको छ। अनुसन्धानका क्रममा घटनास्थलमा रहेका थापामाथि कुकुरले संकेत गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले थापाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जनाएको छ।
घटनामा अर्का पक्राउ परेका चौधरीको संलग्नताबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि चार दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। दोषीमाथि कडा कानुनी कारबाही र पिडितको न्यायको माग गर्दै स्थानीयले सिमरामा प्रदर्शन गरेका छन् ।