88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
राष्ट्रिय खबर

रिहा भएकै दिन पत्रकार श्रेष्ठविरुद्ध ललितपुर प्रहरीमा उपसभामुखको जाहेरी

August 17, 2026 ·
रिहा भएकै दिन पत्रकार श्रेष्ठविरुद्ध ललितपुर प्रहरीमा उपसभामुखको जाहेरी
पढ्ने आकार:

सर्वोच्च अदालतको आदेशमा रिहा भएकै दिन पत्रकार किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरमा उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जाहेरी दिएको बताइन् ।

श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्‍याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको आरोप उपसभामुख ठाकुरले लगाएकी छन् ।

प्रकाशित समाचारबाट आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पुर्‍याएको जाहेरीमा उल्लेख छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी उनको छ । उनैसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो घोर बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरेको उल्लेख छ ।

उनले जाहेरीसँगै प्रकाशित समाचार र फोटोका प्रति पनि पेस गरेकी छन् । यसअघि अर्की युवतीसँग रास्वपा सांसदलाई जोडेर लेखेको समाचारको विषयमा श्रेष्ठ पक्राउ परेका थिए । वैयक्तिक गोपनियता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । श्रेष्ठको कार्यालय र घरबाट बरामद गरिएका सबै सामग्री पनि फिर्ता गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस् Facebook X