सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकको निर्णयअनुसार श्रेष्ठलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए । विज्ञापन क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
जवाफमा अध्यक्ष श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सञ्चालनलाई चुस्त तथा प्रभावकारी बनाउन आफू सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल विज्ञापन संघ (आन) का पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव छ । उनले काठमाडौँस्थित किङ्ग्स कलेज र डन बोस्को कलेजलगायतका शैक्षिक संस्थाहरूमा प्राध्यापनसमेत गर्दै आएका छन् ।