गृह मन्त्रालयले देशका विभिन्न भागमा भइरहेको वर्षाको अवस्थालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा हिमपातसहित भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागबाट जारी मौसमसम्बन्धी विशेष बुलेटिन तथा जलविज्ञान तथा मौसमजन्य विपद्सम्बन्धी सूचनालाई आधार बनाउँदै मन्त्रालयले यस्तो आग्रह गरेको हो।
गृह मन्त्रालयले भारी वर्षा, बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमको सम्भावना देखिएमा सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको अपिलमा विशेषगरी निम्न सावधानी अपनाउन भनिएको छः
* विशेष बुलेटिन तथा मौसमसम्बन्धी सूचना अनुसार उच्च सतर्कता अपनाउने।
* पूर्वतयारी र पूर्वकार्यका लागि पूर्वसूचना, पूर्वसतर्कता तथा सम्भावित जोखिमबारे समयमै सचेतना अभिवृद्धि गर्ने।
* विपद् सम्बन्धी जोखिमको विश्लेषण गरी तयारी अवस्थामा रहने।
* उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने मानिसलाई सम्भावित विपद् आउनुअघि सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गर्ने।
* हिमाली क्षेत्रमा भारी हिमपात र मौसम प्रतिकूल हुनसक्ने भएकाले पदयात्रा तथा हिमाली गतिविधिमा विशेष सावधानी अपनाउने।
* सडक अवरुद्ध हुनसक्ने तथा हवाई उडान प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै यात्रा गर्दा आवश्यक सावधानी अपनाउने।
* बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउने।
* जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनबाट जारी हुने आधिकारिक सूचना तथा निर्देशनको अनिवार्य पालना गर्ने।
गृह मन्त्रालयले विपद्को अवस्थामा मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरी बलका लागि १११४ र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (NEOC/DEOC) का लागि ११४९ मा सम्पर्क गर्न सकिने जनाएको छ।