काठमाडौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि सोमबार उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गरिने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार यही असोज १९ गते सोमबार दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ता कार्यक्रम काठमाडौँस्थित राष्ट्रियसभा गृहमा सञ्चालन हुनेछ ।
महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले सोमबार हुने मनोनयन दर्ता प्रक्रियालाई निकै चासो र महत्त्वका साथ हेरिएको छ। पार्टीका केन्द्रीय तहका विभिन्न पदका आकांक्षीहरूले भोलि तोकिएको समयभित्र आफ्नो उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।
निर्वाचन समितिका अनुसार निर्धारित समयसीमाभित्रै शान्तिपूर्ण र व्यवस्थित रूपमा मनोनयन दर्ता सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।