88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
विज्ञापन
पढ्ने आकार:

नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज (आइतबार) अभिमुखीकरण प्रदान गर्दैछ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज बिहान ११ बजेदेखि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना हुन लागेको हो । अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण राखिएको पार्टी महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् । उनका अनुसार काठमाडौँ उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ भने उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूलाई मोबाइल सन्देशमार्फत जुम बैठकको लिङ्क पठाइसकिएको छ।

गत असोजमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनपछि सङ्गठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम तल्लो तहसम्म पुर्‍याउने र जनताका प्रत्यक्ष मुद्दाहरूसँग जोडिने मूल उद्देश्यका साथ कांग्रेसले ७५३ वटै पालिकामा एकैसाथ यो अभियान परिचालन गर्न लागेको हो। अभिमुखीकरणलगत्तै प्रतिनिधिहरू आ–आफ्नो तोकिएको कार्यक्षेत्रमा खटिने कांग्रेसले जनाएको छ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X