रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ।
नेपाल प्रहरीले दिएको जानकारीजानकारीअनुसार जिल्लाबाट गरी १ हजार ४१० जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार हालसम्म १ हजार २४६ शव व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ तथा आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीपछि अझै ४ हजार ९० जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा निरन्तर भइरहेको छ।
यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल २ हजार ३ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनको कामलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।