गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधाका सर्जकलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो।
सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको मुख्य आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ तथा महाकाव्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’ प्रदान गरियो। यस्तै वरिष्ठ गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवार, राजनराज सिवाकोटीसहित विभिन्न सर्जकहरूलाई विशेष सम्मान तथा पत्रकार स्वतिका पन्थी र सन्दीप पौड्याललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
पर्दापछाडिका प्राविधिक र वाद्यवादकलाई समेत प्राथमिकता दिइएको यस अवार्डमा तालवादनतर्फ भुवन गन्धर्व र बाँसुरीवादनतर्फ रत्न विकलाई अवार्ड प्रदान गरियो। कार्यक्रममा पल शाह, प्रकाश सपुत, शिव परियार, रचना रिमाललगायत विभिन्न स्थापित तथा नयाँ पुस्ताका कलाकारहरू सम्मानित हुनुभएको थियो। सोही अवसरमा गायक छविन गुरुङको नयाँ गीत ‘आमा’को भिडियोसमेत सार्वजनिक गरिएको थियो।
कार्यक्रमका संयोजक तारावीर पाण्डे र अध्यक्ष पारिजात बरालले नेपाली संगीत तथा कला क्षेत्रका सर्जकलाई प्रोत्साहन गर्न आयोजना गरिएको यस अवार्डलाई आगामी दिनमा अझ भव्य बनाउँदै अन्तर्राष्ट्रियस्तरसम्म लैजाने लक्ष्य रहेको बताउनुभयो।