एनसेलले नेपालमा कनेक्टेड सवारी साधन सेवा उपलब्ध गराउनका लागि बीवाईडी (BYD) अटो इन्डस्ट्री कम्पनीको आधिकारिक बिक्रेता साइमेक्स इंकसँग साझेदारी गरेको छ।
यस साझेदारी अन्तर्गत नेपालमा बिक्री हुने प्रत्येक बीवाईडी गाडीमा एनसेलको इन्टरनेट अफ थिङ्स (IoT) सिम जडान गरिनेछ, जसले ग्राहकहरूलाई डिजिटल रूपमा थप सहज र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ। यो सहकार्यले नेपालमा आईओटी (IoT) नवप्रवर्तनको क्षेत्रमा एनसेलको स्थानलाई थप बलियो बनाएको छ भने विभिन्न क्षेत्रहरूमा कनेक्टेड प्रविधिलाई बढावा दिने कम्पनीको निरन्तर प्रयासलाई पनि झल्काउँछ।
गाडीमै आईओटी सिम जडान हुने भएकाले ग्राहकहरूले कुनै थप उपकरण बिना नै गाडीभित्र इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । यो कनेक्टिभिटीले बीवाईडी एप र गाडीको इन्फोटेनमेन्ट (मनोरञ्जन र सूचना) प्रणालीलाई सपोर्ट गर्नेछ। “प्रयोगकर्ताहरूले आफ्नो फोन कनेक्ट नगरी वा वाइफाइ हटस्पटमा निर्भर नभई गाडीकै प्रणालीमार्फत युट्युब, स्पोटिफाइ र काराओके जस्ता अनलाइन सेवा र डिजिटल मनोरञ्जन सिधै प्रयोग गर्न सक्नेछन् ।
ग्राहकहरूले आईओटी सिमको माध्यमबाट एनसेलको देशव्यापी नेटवर्क कभरेजको फाइदा लिन सक्नेछन् । मोबाइलमा एनसेल नेटवर्क प्रयोग गरेजस्तै नेटवर्कको कभरेज, स्थान र गाडीको बनावट (कन्फिगरेसन) अनुसार प्रयोगकर्ताको अनुभव भने फरक हुन सक्छ । यस साझेदारीले बीवाईडी गाडीहरूमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीसँग सम्बन्धित सुविधाहरू ल्याउने अपेक्षा गरिएको छ ।