राष्ट्रपति रामचन्द्र पौडेलले रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकार, राजनीतिक दल तथा सामाजिक संघ–संस्थालाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्दै आवश्यक राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेका हुन्।
उनले सुरक्षा निकायसहित राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धार तथा राहतमा सक्रियताका साथ परिचालन हुन आग्रह गरेका छन्। साथै, आम नागरिकलाई समेत विपद्को यस घडीमा प्रभावितको उद्धार र राहतका लागि सहयोग गर्न आह्वान गरेका छन्।
बाढीका कारण प्रभावित बनेका नागरिकको जीवनरक्षा पहिलो प्राथमिकतामा राख्दै खोज तथा उद्धार, राहत वितरण र आवश्यक मानवीय सहयोगलाई समन्वयात्मक रूपमा अघि बढाउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिएका छन्।
राष्ट्रपतिले विपद्को समयमा सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको उल्लेख गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।