रसुवामा गएको बाढी र त्यसले रसुवागढी भन्सार कार्यालयमा पुर्याएको क्षतिकैबीच भन्सार प्रशासनले कर्मचारीहरूको खोजी तथा उद्धारको कामलाई तीव्रता दिएको छ। अर्थ मन्त्रालयबाट प्राप्त पछिल्लो विवरण अनुसार भन्सार कार्यालयमा कार्यरत २५ जना कर्मचारीहरू सकुशल सम्पर्कमा आएका छन्।
अर्थ मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालयमा कुल ३६ जनाको स्थायी दरबन्दी रहेको छ। जसमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना स्थायी कर्मचारी सम्पर्कमा आइसकेका छन्।
यसैगरी, कार्यालयमा कार्यरत ४ जना करार तथा ज्यालादारी कर्मचारीमध्ये हालसम्म १ जना मात्र सम्पर्कमा आएका छन्। यसरी समग्रमा ११ जना स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारी गरी कुल १४ जनाको अवस्था अझै अज्ञात रहेको र उनीहरूको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
बाढीका कारण प्रभावित यस क्षेत्रमा कर्मचारीहरूको सुरक्षा र सम्पर्कलाई प्राथमिकतामा राखिएको छ भने हराइरहेका कर्मचारीहरूको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।