सरकारले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बाढीका कारण जनधनको ठूलो क्षति भएको निष्कर्ष निकाल्दै उद्धार, राहत र पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी बनाउन उक्त निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै प्रभावित क्षेत्रमा आपतकालीन राहत सामग्रीको सहज आपूर्ति तथा भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि विशेष कोष र प्रशासनिक संयन्त्र परिचालन गर्न बाटो खुल्ने अपेक्षा गरिएको छ। बाढीका कारण भएको कुल क्षतिको विवरण सङ्कलन गर्ने र बेपत्ताहरूको खोजी कार्यलाई थप तीब्र बनाउने सरकारले जनाएको छ।