बागमती प्रदेशमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले नदी तथा खोलामा बाढी आउन सक्ने, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
मन्त्रालयले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र खाद्यान्न, औषधि तथा आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ।
बाढी तथा पहिरोसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।